कांग्रेसले सर्वदलीय बैठकमा प्रचण्ड–नेपाल समूहलाई पनि बोलायो

कांग्रेसले सर्वदलीय बैठकमा प्रचण्ड–नेपाल समूहलाई पनि बोलायो


काठमाण्डु – संसद् भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल समूह पनि सहभागी हुने भएका छन् ।

आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस, जनता समाजवादी पार्टी र प्रचण्ड–माधव नेपाल पक्षधर नेकपा नेताहरुको बैठक बसेको थियो । उनीहरुले संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेका छन् । ओलीको कदमविरुद्ध थप रणनीति बनाउन सर्वदलीय बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठकमा नेकपालाई संस्थागत रुपमा बोलाइएको भन्दा पनि प्रचण्ड–नेपाल पक्षलाई निम्ता दिइएको कांग्रेस नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेकी थिइन् ।

यसअघिदेखि नै ओली सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको प्रमु प्रतिपक्षी दल कांग्रेसले संसद् विघटन गरिएको दिन पनि काठमाण्डुमा विरोध प्रदर्शन गरेको थियो ।