प्रचण्ड उपाध्यक्ष सरहका व्यक्ति हुन्, मलाई कारबाही गर्ने कुनै आधार छैनः प्रधानमन्त्री अ‍ोली

प्रचण्ड उपाध्यक्ष सरहका व्यक्ति हुन्, मलाई कारबाही गर्ने कुनै आधार छैनः प्रधानमन्त्री अ‍ोली


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष सरहको व्यक्ति भएको बताएका छन् ।

सोमबार बिहान बालुवाटारमा आफू पक्षका सांसदहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले उपाध्यक्ष भन्दा चित्त दुखाउलान् भनेर मात्रै अध्यक्ष पद दिएको बताएका छन् ।

‘प्रचण्ड उपाध्यक्ष सरहका व्यक्ति हुन् । मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेलामा सहभागी एक सांसदले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे ! अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन् । त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ।’

प्रधानमन्त्री अ‍ोलीले भारी मनले अध्यादेश ल्याउनु परेको बताएका छन् । उनले बैठकमा एकताको तेस्रो महिनाबाट नै एकता विरोधी काममा अध्यक्ष प्रचण्ड अग्रसर भएको बताएका छन् ।

‘मैले असाध्यै भारी मनका साथ यो निर्णय लिनुपरेको छ र यो भन्दा अरु विकल्प थिएन । पार्टी एकता भएता पार्टी एकता टुंग्याउन, सरकारका कामलाई टुंग्याउन सुरु भयो । एकताको तस्रो महिनादेखि नै प्रचण्डका ध्यान पार्टी कब्जा गर्नेमा केन्द्रीत भए’, उनले बैठकमा भने ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले आफूले बोलाएका केन्द्रीय, स्थायी र सचिवालयको बैठक मात्रै आधिकारिक भएको र अरु बैठक आधिकारिक नभएको स्पष्ट पारेका थिए । उनले यसको संकेत हिजो मात्रै बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले आफूलाई अनुशासनको कारबाही गरेको विषयमा संकेत गरेका थिए ।

‘बैठकका नाममा गरिएका भेला आधिकारिक होइनन् । प्रचण्डले पार्टी सदस्यबाट निकालेको घोषणा गर्दै हुनुहुन्छ । यो विश्वलाई नै हसाउँने काम भएको छ । प्रचण्डले मलाई पार्टी सदस्यबाट हटाएँ भन्ने मजाक यहाँ भन्दा अरु के हुन्छ ? उहाँलाई देशको हितमा काम गर्दा असह्य भएको छ’, बैठकमा उनले भने ।

उनले विदेशी शक्तिसँग मिलेर आफूलाई काम गर्न नदिएकाले आफूले नयाँ जनादेशको निर्णय लिएको बताएका छन् । उनले अदालतले संसद विघटनको निर्णय उल्ट्याउन नसक्ने बताए । उनले ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिस गरेकाले उल्ट्याउन नमिल्ने बताएका छन् ।