देशलाई सही दिशा दिनका लागि ओलीकै नेतृत्व आवश्यकः लेखराज भट्ट

देशलाई सही दिशा दिनका लागि ओलीकै नेतृत्व आवश्यकः लेखराज भट्ट


काठमाण्डु – उद्योगमन्त्री लेखराज भट्टले अहिले देशका लागि प्रधानमन्त्री ओलीको विकल्प नभएको बताएका छन् ।

आज विहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा सहभागी भएका पूर्वमाओवादी खेमाका नेता भट्टले पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको बताउँदै नेकपा नेतृत्वको सरकारले राम्रो काम गर्दै अगाडि बढेको समयमा सरकार गिराउने खेल भएको बताएका हुन् ।

‘इतिहासमा सबैभन्दा बढी काम गरेको सरकार नै यही हो, कम्युनिस्ट आन्दोलनका लागि र देशलाई सही दिशा दिनका लागि अहिले ओलीको नेतृत्वको विकल्प छैन,’ उनले भेलालाई सम्बोधन गर्दै भने, ‘तर, यो सरकारलाई घेराबन्दीमा पारियो ।’

साथै उनले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । उनले भने, ‘यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल समूह लागेकाले मैले साथ दिन सकिनँ ।’

नेता भट्ट पछिल्लो समय नेकपामा प्रचण्डको साथ छाडेर ओलीलाई समर्थन गर्न लागेका छन् ।