प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भने पनि यो जीवित नै छः प्रचण्ड

प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भने पनि यो जीवित नै छः प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा जिवितै रहेको बताएका छन् ।

सोमबार बानेश्वरमा आफू पक्षका सांसदहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गर्दैमा संसद नमर्ने दाबी गरेका हुन् । उनले बहुमत सांसदहरु मिलेर संसदलाई जिवितै स्थापित गर्ने बताएका छन् ।

‘हाम्रो अधिकारको अपहरण भएको छ । हामीलाई मारिएको भनिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भनेका छन् । विघटनका कारण प्रतिनिधि सभा मरेको भनेर नठान्नुस्, यो जीवित नै छ,’ प्रचण्डले भने, ‘आज यहाँ ९३ जना भएका छौं, हामीले यसका पक्षमा २०० जना पुर्‍याएर सर्वोच्च अदालत जान्छौं र प्रतिनिधि सभा जिवित रहेको स्थापित गरेरै छाड्छौं ।’

उनले आइतबार नै ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बहुमतको अवस्थाका बारेमा निर्वाचन आयोग पनि स्पष्ट रहेको बताउँदै अहिले नै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले संसद भंग हुने कुरा आफूलाई आइतबार बिहान थाहा भएको जानकारी दिए । उनले छलफल गरेर आवश्यक कदम चाल्न प्रधानमन्त्री अ‍ोलीलाई आफूले आग्रह गरेको पनि स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले संसदीय दलको नेता बुधबारको बैठकले चुन्ने जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्रीलाई अनुशासनको कारबाही भोली बस्ने बैठकले गर्नेछ ।

‘यो संविधानले संसद विघटनको अधिकार दिएको छैन र प्रधानमन्त्रीलाई कुनै अधिकार छैन’, उनले भने, ‘विगतको संविधानले परिकल्पना गरेको भए पनि अहिलेकोले दिएको छैन ।’