काठमाण्डु – नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीको बैठकले संसद विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले तीन वटै पार्टीको केन्द्रीय बैठकपछि सरकारविरुद्ध संयुक्त रुपमा अगाडि बढ्ने विषयमा निर्णय गर्ने जानकारी दिए ।
तीन दलको बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कदम असंवैधानिक रहेकोले कानुनी र राजनीतिक दुवै हिसाबले प्रतिवाद गर्ने निर्णय भएको बताए ।
‘सरकारको कदम संविधान र लोकतन्त्रविरोधी रहेको ठहर सबै दलले गरेका छौं । अब तीनै दलको आन्तरिक गृहकार्यपछि कानुनी र राजनीतिक हिसाबले सरकारको प्रतिवाद गर्छौ’, श्रेष्ठले भने ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, महामन्त्रीद्वय डा.शशाकं कोइराला र पूर्णबहादुर खड्कालगायत सहभागी रहेको थियो । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।




प्रतिक्रिया