प्रचण्ड पक्षका तीन नेता बालुवाटार छिरे, केन्द्रिय कमिटीमा नयाँ सदस्य थप्ने ओलीको तयारी

प्रचण्ड पक्षका तीन नेता बालुवाटार छिरे, केन्द्रिय कमिटीमा नयाँ सदस्य थप्ने ओलीको तयारी


काठमाण्डु – पूर्व माओवादी पक्षका तीन नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।

बालुवाटारमा शुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य ओली पक्षले बोलाएको बैठकमा सहभागी हुन पुगेका हुन् ।

सोमबार ओली र प्रचण्ड पक्ष दुवैले संसदीय दलका समानान्तर बैठक गरी सकेका थिए । पूर्व माओवादी पक्षका लेखराज भट्ट सोमबार केपी ओली पक्षले बोलाएको बैठकमा समेत सहभागी भएका थिए भने रायमाझी र मणी थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।

आज मंगलबार पार्टी केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखी एक अर्का पक्षलाई कारवाही गर्ने तयारी रहेको बताइएको छ, जसका कारण नेकपा एकीकरण भएको ३२ महिनापछि औपचारिक रुपमा फुट्ने अनुमान गरिएको छ । साथै केपी ओली समूहले केन्द्रिय कमिटीमा नयाँ सदस्य थप गर्ने तयारी गरेको छ ।

अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गरेर उक्त स्थानमा नयाँ सदस्य थप गर्ने ओली पक्षले तयारी गरेको हो । अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रिय समितिको बैठकले कारबाही तथा नयाँ सदस्य मनोनयनको निर्णय गर्ने बताइएको छ ।

नयाँ सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । बैठकमा नयाँ सदस्यको नामावली प्रस्तुत गर्ने ओली समूहको तयारी छ । ओलीले बैठक ९ बजेको लागि बोलाए पनि अझै शुरु भएको छैन । केन्द्रिय सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ ।