काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा केन्द्रीय समितिको अध्यक्ष पदबाट हटाएको घोषणा गरेका छन् ।
प्रचण्ड–माधव नेपाल समूहको मंगलबार बसेको बहुमत केन्द्रीय समितिको बैठकले ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाएको हाे । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
उनले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’
ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।




प्रतिक्रिया