ओलीले १० वर्षे उपलब्धी अपहरण गरे, संसद पुर्नस्थापना गरेर नयाँ सरकार बनाउछौंः प्रचण्ड

ओलीले १० वर्षे उपलब्धी अपहरण गरे, संसद पुर्नस्थापना गरेर नयाँ सरकार बनाउछौंः प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुमाथि थपिएको चुनौतीको सामना गर्दै नयाँ सरकार बनाउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका पचण्डले संसदीय दलको नेता बनेपछि नयाँ बानेश्वरमा जारी दाहाल–नेपाल समूहको बैठकलाई सम्बोधन गर्दै अबको आफ्नो सम्पूर्ण ध्यान संसद जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्ष संघर्ष गरेर प्राप्त गरेको उपलब्धि अपहरण गरेको भन्दै प्रचण्डले भने, ‘यो धेरै ठूलो जिम्मेवारी हो, अब मेरो सबै तागत संसद जीवित राख्नमा लगाउनेछु । ओली नेतृत्वको सरकारको बैधानिकता सकियो, यसलाई चाँडोभन्दा चाँडो विदा गर्नुपर्छ ।’

प्रचण्डले आफूहरु पार्टी र संसदीय दल दुबैमा अघि रहेका बताए । उनले भने, ‘पार्टी र संसदीय दल दुबैमा अघि छौँ । हामीलाई मर्यो भनेपनि बाँचिरहेका छौँ । को मर्यो ? त्यो जनताले थाहा पाइसक्नु भएको छ । देश बाहिर पनि निकै ठूलो चासो र ओलीको कदमलाई विरोध गरिएको छ ।’

प्रचण्ड–नेपाल समूहको संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता तोकेको छ । मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट पनि हटाएको थियो ।