प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल


काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क समेत गरे । पौडेलले पार्टी एकता नहुंदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउंदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए ।

‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो ’, लुम्बिनी प्रदेश, रुपन्देहीका पूर्वसांसद पौडेलले भने , ‘तर उहांहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन ।’ उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउंदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैंजसो समस्या देखिने गरेको बताए ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए ।