काठमाण्डु – नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । केहीबेर अघि सुरु भएको बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटनपछि कुनै समूहको बैठकमा नगएका थापा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।
थापालाई प्रचण्डले आफुतिर लाग्न आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका हुन् । बादलको साथमा हरिबोल गजुरेल पनि सहभागी भएका नेकपाका केन्द्रीय सदस्य बद्रिविशाल पोखरेलले जानकारी दिए ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । उनले बैठकमा सहभागी हुनुअघि आजै प्रधानमन्त्री ओलीसँग छुट्टै छलफल गरेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो ।
आजको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतह सम्म कार्यकर्ता खटाउने लगायतका विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी भएको छ ।
नेकपा एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा भने गरिएको छैन ।




प्रतिक्रिया