काठमाण्डु – संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन सुरु गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहले आजबाट आन्दोलन सुरु गरेको हो ।
माइतीघरबाट सुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित नेकपा अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु सहभागी छन् ।
माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको योजना छ ।नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
माइतीघरको प्रदर्शनपछि सो पक्षका नेता कार्यकर्ता मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने भएपछि निर्वाचन आयोग क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही नेताबाहेक अन्यलाई जमलमै रोक्ने तयारी भएको छ । सोहीअनुसार ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पुष ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सदर गरेपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आइरहेको छ ।




प्रतिक्रिया