काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका केन्द्रिय सदस्य राजेन्द्र राईले आन्दोलनबाटै संसद फिर्ता ल्याउन सकिने बताएका छन् ।
माइतीघरमा संसद खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका नेता राईले राजालाई आन्दोलनबाटै फालेको भन्दै यसरी नै असंवैधानिक कदम फिर्ता गर्न सम्भव हुने बताएका हुन् ।
‘विभिन्न प्रक्रियाबाट दबाब दिने हो । यो पनि एउटा दबाबको रुप हो । यसरी नै हामीले राजालाई फालेका हौं । त्यसो हुनाले प्रतिनिधिसभा फिर्ता गर्न सम्भव छ,’ उनले भने ।
नेता राईले पटक–पटक पार्टी फुटको साक्षी बस्नुपर्दा दुःख लागेको पनि बताए । ‘पार्टी फुटको साक्षी बस्दा दुःख लागेको छ । यस्तो नहुनु पर्नेथ्यो । एउटा क्रान्तिपछि मुहार फेर्ने गरी, छलाङ मार्ने गरी काम गर्नुपर्नेमा हाम्रै अध्यक्ष हुँदा असंवैधनिक, प्रतिगामी कदम, पार्टीभित्रको अन्यायोचित कदमले दुःख लागेको छ,’ राईले भने ।
राईले नेकपा र सूर्य चिह्न आफ्नै समूहले पाउने दाबी पनि गरे । ‘जालसाझी गरेर हामी बहुमतमा छौं भनेर पेस गरिरहेका छन् । तर, बहुमत कसको छ भनेर देखाउन सडकमा आएका हौं । सही फैसला हुन्छ भन्ने विश्वास छ । सूर्य र नेकपा हामीले पाउँछौं । हामी बहुमत भएकाले कानुन र नजिरले पनि त्यही भन्छ ।’
संसद् विघटनको विरोध गर्दै नेकपा प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको छ । अहिले माइतीघरमा केन्द्रीय सदस्य तथा सांसदहरु संसद् विघटन खारेजीको माग गर्दै अन्दोलन गरिरहेका छन् ।




प्रतिक्रिया