काठमाण्डु – नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले एकलौटी ढंगले मन्त्रिमण्डल पुर्नगठन गरेको बताएका छन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले प्रधानमन्त्री ओलीले पार्टीको नीति बिर्सिएको आरोप लगाएका छन् ।
‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो,’ नेता खनालले भने, ‘उखानका टुक्का हानेर देश चल्दैन । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’
काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।
‘के केपी ओलीले रानीपोखरी, धरहरा बनाएको हो ? होइनन्, कालीगढ र इन्जिनियरले बनाएका हुन् ।
प्रधानमन्त्री ओलीले तीन वर्षमा मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको खनालको आरोप छ । उनले भने, ‘तीन वर्ष खेर भयो । ओलीले मरिचमान र नगेन्द्रले गरेजत्ति पनि काम गर्न सकेनन् ।’
प्रधानमन्त्री अोलीले रानीपोखरी र धरहरा निर्माण नगरेको बताउँदै उनले तुइन हटाउने घोषणा गरे पनि कार्यान्वयन गर्न नसकेको बताएका छन् । नेता खनालले ओलीले पार्टीको कुरा नसुनेको र सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।




प्रतिक्रिया