काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारको आयु पुगेको बताएका छन् ।
संसद विघटनको विरोधमा राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सुध्रिन अन्तिम मौका दिएको बताएका छन् ।
‘केपी ओली नेतृत्वको सरकारको आयु पुग्यो । सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं,’ उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु । उहाँ व्यक्तिवादी र गुटवादी हो । तर बालुवा पेलेर तेल निक्लिनु र ओली सुध्रनु एउटै हो ।’
उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए । उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं । अन्यथा,भीरबाट लड्ने गाेरूलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।’
सरकारको असंवैधानिक कदम आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । त्यस्तै उनले केपी ओलीलाई गणतन्त्रको माया नभएको र पार्टी अनुशासन र बैठकको मतलब नभएको बताएका छन् । उनले सामान्य अवस्थाकै जस्तो मन्त्री बनाएको र कतिलाई सांसद, मेयर, राजनीतिक नियुक्तिको लोभ दिइएको पनि बताए ।




प्रतिक्रिया