काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको प्रयास सफल नहुने बताएकी छन् । राजधानीको भृकुटीमण्डपमा जारी विरोधसभालाई सम्बोधन गर्दै नेतृ शाक्यले केपी ओलीको संसद ढाल्ने प्रयास खेर जाने बताएकी हुन् ।
संसद पुनःस्थापना नभएसम्म सडक संघर्ष गरिरहने बताउँदै उनले केपी ओली सरकारले लोकतन्त्रमाथि धावा बोलेको आरोप समेत लगाइन् ।
‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । संविधानमाथि कू गरेको छ, संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढाउँछौं,’ उनले भनेकी छन् ।
गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको भन्दै उनले भनिन्, ‘केपी ओली, कमरेडविरुद्ध होइन, सर्वसत्तावादी ओली, स्वच्छेचारी ओलीविरुद्ध, निरङ्कुश ओलीविरुद्ध लड्नुपर्ने छ ।’




प्रतिक्रिया