प्रचण्डको देशमाथि ‘कू’ गर्ने योजना असफल, संसद विघटन गरेर प्रधानमन्त्रीले देशलाई बचाउनुभयोः मन्त्री थापा

प्रचण्डको देशमाथि ‘कू’ गर्ने योजना असफल, संसद विघटन गरेर प्रधानमन्त्रीले देशलाई बचाउनुभयोः मन्त्री थापा

'ताजा जनादेशका लागि चुनावमा जानु प्रधानमन्त्रीको अधिकार हो'


काठमाण्डु – खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटन गरेको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले त्यसलाई असफल बनाएर संसद विघटनको कमद चालेको बताएका हुन् ।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्रीमाथि कू गर्नु खोज्नुभयो,’ थापाले भने, ‘देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।’

उनले चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । नेकपा चुनावी अभियानमा सातैवटा प्रदेशमा सक्रिय भएको भन्दै उनले देशभर चुनावको लहर चल्दै गएको दाबी गरे । उनले भने, ‘धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो ।’

तपाईंले प्रचण्डलाई धोका दिएर जानुभयो नि भनी सोधिएको प्रश्नमा उनले आफूले जीवनमा कहिले कसैलाई धोका नदिएको भन्दै आफ्ना लागि मन्त्री बन्ने ठुलो कुरा नभएको दाबी गरे ।

‘वर्तमान संकटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले प्रस्तावलाई आफुले स्वीकार गरेको हु, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन,’ उनले भने, ‘बरु प्रचण्डले प्रधानमन्त्री केपी लगायत समकालिन नेताहरुलाई धोका दिदै आउनुभएको छ ।’

उनले पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको बताए । उनले प्रतिनिधिसभा बिघटनबारे प्रधानमन्त्रीलाई राजनीतिक निर्णय गर्ने अधिकार भएको तर्क गर्दै प्रधानमन्त्रीले जनतासामु नयाँ म्याण्डेट लिएर जान्छु भन्न पाउने बताए ।

उनले भने, ‘यो कानुनी भन्दा पनि राजनीतिक निर्णय हो । ताजा जनादेशका लागि चुनावमा जानु प्रधानमन्त्रीको अधिकार हो ।’ उनले संसद पुनःस्थापना नहुने ठोकुवा गर्दै प्रचण्ड र माधव नेपाल सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको बताए ।

मन्त्री थापाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिने बताए ।