काठमाण्डु – मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
आज (आइतबार ) बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सिफारिशका आधारमा राष्ट्रपतिले पत्र पठाएर आजै अधिवेशन अन्त्यको घोषणा गर्ने बुझिएको छ । आज दिउँसो १ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको बुझिएको छ । पुष १७ गतेबाट सुरु भएको हिउँदे अधिवेशन यसपटक छिट्टै अन्त्य गर्न लागिएको हो ।
त्यस्तै सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले बताए । यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो ।




प्रतिक्रिया