काठमाण्डु – विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् ।
जी न्युजका सम्पादक सुधीर चौधरीले पशारण गरेको उक्त ‘सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने’ विषयलाई लिएर नेपालीले चर्को विरोध गरेपछि बुधबार रातिको प्रसारित टेलिभिजन कार्यक्रम डिएनएमार्फत माफी मागेका हुन् ।
आफ्नो अभिव्यक्तिले भारत र नेपालका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने जिकिर गर्दै सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्याउने आफ्नो नियत नभएको भन्दै माफी मागे ।
‘माउन्ट एभरेस्ट (सगरमाथा) नेपालकै हो । विश्वको सर्वोच्च शिखरलाई कसैले पनि नेपालबाट खोस्न सक्दैन,’ उनले भनेका छन्, ‘दुवै देशमा सरकार त आउँछन्, जान्छन् । तर दुई देशका नागरिकबीचको सम्बन्धमा हार्दिकता र निकटता रहिरहनुपर्छ ।’
चौधरीले बुधबारको एउटा दैनिक पत्रिकाले छापेको समाचारको प्रति पनि हातमा बोकेर यसबारे बोलेका थिए ।
‘हामी नेपाली दर्शक र भाइबहिनीलाई भन्न चाहन्छौँ, भारत–नेपालबीच रामलक्ष्मणको जस्तो सम्बन्ध छ र यो सधैँ रहिरहनेछ’, उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर हामीले भन्न खोजेको होइन । यो त नेपालकै हो र नेपालमै रहिरहनेछ ।’
चौधरीले माउन्ट एभरेस्ट रहेको स्थानलाई कसैले परिवर्तन गर्न नसक्ने पनि बताएका छन् । उनले माउन्ट एभरेस्ट नेपालमै रहेको तथ्यलाई कसैले नकार्न नसक्ने बताउँदै तर यसको नाम फेर्न ‘मुहिम’ भने जी न्युजले नरोक्ने बताएका छन् ।
‘माउन्ट एभरेस्टको ‘लोकेसन’ कसैले फेर्न सक्दैन। माउन्ट एभरेस्ट नेपालमै छ र यस तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन’, उनले भनेका छन्, ‘हामीलाई नेपालका दर्शकको चित्त दुखाउनु छैन । तपाईंहरुको मनमा चोट पु¥याउने हाम्रो उद्धेश्य पनि होइन ।’
‘सरकार जोकसैको आए पनि हामी मिलेर अघि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ, भइरहने कुरा हो । नेपाल र भारतका नागरिकबीच कहिल्यै समस्या आएन’, उनले भनेका छन्, ‘हामी अब पनि हाम्रो सम्बन्धमा कुनै समस्या आउन दिने छैनौँ । भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन् । हामीले त सगरमाथाको उचाई नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय दिन खोजेका हौँ । हामी नेपाल र नेपालीसँग कुनै कुरा खोस्ने पक्षमा छैनौँ । हामीले खोजेको त भारतकै आफ्नो नाम अर्थात राधानाथ सिकदर नामबाट एभरेस्ट चिनिनुपर्छ । नेपालीले जसरी सगरमाथा भन्छन् ।’
उनले भारतीय गणितज्ञ सिग्दरले सगरमाथा सन् १८५२ मा नाप्दा ८८३९ मिटर निकालेको बताएका छन् । ‘भारतले अब माउन्ट एभरेस्ट होइन, माउन्ट सिकदर भन्नुपर्छ । नेपालीले यो कुरा स्वीकारे राधानाथको योगदानको मूल्यांकन हुनेछ । माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुँदा भारतको कब्जा हुने होइन । यो नेपाल र तिब्बतको सिमानामा सदियौँदेखि उभिएको छ’, उनले भनेका छन्, ‘हामीले राधानाथलाई अन्यायमा पारेर गरिएको गल्ती सुधार्न खोजेका हौँ । राधानाथ सिग्दरबाट खोसेर जर्ज एभरेष्टलाई दिइएको श्रेय फिर्ता गर्न खोजेका हौँ । बेलायतले भारतमा आफ्नो उपनिवेश चलाइरहँदा नियतवश आफ्ना नागरिकको नाम यसमा कायम गरेका थिए । तर हामी यसलाई सुधारेर छाड्छौं ।’
चौधरी गत आइतबार सगरमाथा आधार शिविर पुगेका थिए । सरकारसँग अनुमति नलिइ सिम्रिक एयरको हेलिकोप्टरबाट कालापत्थर पुगेर सगरमाथामाथि भारतको दाबी प्रस्तुत गरेपछि चर्को आलोचना भएको थियो ।
उनले नेपाल आएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता पनि लिएका थिए । यसअघि पनि नेपालबारे विवादित सामग्री बनाउँदै आएको जी न्यूज आलोचनाको केन्द्रमा परेको थिया् ।




प्रतिक्रिया