चीनले भारतीय सीमा क्षेत्रबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलायो

चीनले भारतीय सीमा क्षेत्रबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलायो


काठमाण्डु – चीनले भारतको सीमा बास्तविक नियन्त्रण रेखा (एलएसी)बाट १० हजार सैनिक फिर्ता बोलाएको छ ।

कठ्यांग्रिदो जाडोमा युद्धको सम्भावना न्यून रहेको अनुमान गर्दै चीनले भारतसँगको विवादित सीमाक्षेत्र सिन्जियाङ र तिब्बतबाट सैनिक फिर्ता बोलाएको चिनियाँ सैन्य स्रोतहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

भारतीय पक्षले स्पष्टसँग देखोस् भनेर सैनिकहरूलाई सैन्य वाहनमा राखेर फिर्ता गरिएको पत्रिकामा उल्लेख छ ।

भारतीय सेनाले पनि चिनियाँ जनमुक्ति सेनाका ट्रेनिङ युनिटहरू तिब्बती पठारबाट हटाइएको पुष्टि गरेको छ । तर पूर्वी लद्दाखमा गतिरोधको स्थितिमा रहेका सैनिकहरू फिर्ता नगरिएको बताइएको छ । चीनको सेनाले पूर्वी लद्दाखमा आफ्ना जवानहरूलाई तालिम दिने गर्छ ।

चीनको सर्वोच्च सैन्य निकाय सेन्ट्रल मिलिटरी कमिसनले हिमालय क्षेत्रको अत्यधिक चिसो मौसममा दुवै पक्षले लडाइँ गर्न असम्भव रहेको सुनिश्चित गर्दै सैनिकहरूलाई आरामका लागि फिर्ता बोलाएको साउथ चाइना मर्निङ पोस्टमा खबर छ ।

चीनले आफ्नो सैनिक फिर्ता बोलाएर भारतबाट पनि त्यस्तै किसिमको अपेक्षा गरेको हुन सक्ने अनुमान लगाइएको छ ।