एजेन्सी –भारतमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत कोसम्बा नजिकै सोमबार राति सडकको छेउमा सुतिरहेका मजदुरहरुलाई ट्रकले किचेको थियो ।
प्रहरीकाअनुसार मृतक सबै कामदारहरू राजस्थानको बाँसवाड़ा जिल्लाको कुशलगढका निवासी थिए । सुतारको कामराज डिभिजनका नायब अधीक्षक जडेराले समाचार एजेन्सी एएनआईसँग भने, ‘उखुले भरिएको ट्र्याक्टरसँग ठक्कर खाँदा ट्रक अनियन्त्रित भएर फुटपाथमा ठोक्कियो जहाँ कामदारहरू सुतिरहेका थिए ।’
दुर्घटनाको समयमा २० जना मजदुरहरु फुटपाथमा सुतिरहेका थिए । १२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएको बताइएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । मृतकमध्ये १० जनाको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा सफेसा फुसे, शोभना, राकेश, दिलीप ठक्रा, नरेश बालु, विकेश महिडा, मुकेश महिदा, लीला मुकेश, मनीषा र चड्ढा बाल छन् । एक २ वर्षीया बालिका र एक वर्षको बच्चाको पनि दुर्घटनामा मृत्यु भएको छ ।
उही समयमा ६ महिनाकी बालिकाको ज्यान बचेको छ । उनी आफ्ना बाबुआमासँग सुतिरहेकी थिइन् । दुर्घटना पछि लाशको थुप्रोमा रहेको बालिकाको आवाज सुनेपछि प्रहरीले उनलाई उद्धार गरेको थियो । बच्चाका बाबुआमाको मृत्यु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूको मृत्युमा शोक व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।




प्रतिक्रिया