एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देश पछि परे कोरोना महामारीको अन्त्य नहुने बताएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपले महामारीको अन्त्य गर्ने आशा लिएपनि धनी र गरिब मुलुकहरु बीचको असमानताका कारण गरिब देश पछि परे महामारीको अन्त्य नहुने बताएका हुन् ।
‘अहिले विश्वका धेरै मुलुकहरुले आफ्नो स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई पहिला कोरोना खोप दिन चाहन्छन् । तर, धनी मुलुकका युवा र स्वस्थ वयस्क मानिसहरुले गरिब मुलुकका स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकले भन्दा पहिला कोरोना खोप पाउनु भने सही होइन,’ उनले भनेका छन् ।
अहिलेको अवस्थामा कम्तीमा ४९ धनी मुलुकका मानिसहरुलाई कोरोना खोपको तीन करोड ९० लाख डोज दिइएको छ भने गरिब मुलुकमा केवल २५ डोज खोप मात्र दिइएको छ ।
गेब्रेयेससले खोप वितरणमा समानता ल्याउनु नैतिक जिम्मेवारी मात्र नभई रणनीतिक र आर्थिक स्तरमा पनि महत्वपूर्ण हुने बताए ।




प्रतिक्रिया