काठमाण्डु – करिब तीन महिनादेखि सम्पर्कबिहीन भएका चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् ।
चिनियाँ सञ्चारमाध्यमले माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
‘कोभिड–१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।
केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् । अलिबाबाका संस्थापकसमेत रहेका मा करिब ३ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् ।




प्रतिक्रिया