एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम सुरु गरेका छन् । शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् ।
“हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,” सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए। उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।
उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ। कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’
यस्तै विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा बाइडेनले पहिलो दिनमा हस्ताक्षर गरेका छन् ।
मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्नेसहितका आदेशमा बाइडेनले हस्ताक्षर गरेका हुन् ।
स्थानीय समय अनुसार बुधबार मध्याहन्नदेखि बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका हुन् । त्यसअघि बाइडेनले राष्ट्रपति तथा कमला ह्यारिसले उपराष्ट्रपतिको शपथ लिएका थिए । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपति बन्ने पहिलो महिला, पहिलो अश्वेत महिला हुन् ।
समारोहमा ट्रम्प सहभागी भएनन् । तर उनले बाइडेनका लागि नोट छोडेको ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी छन् । सो नोटमा रहेको विवरण भने सार्वजनिक गरिएको छैन ।
बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ । यस्तै उनले १०० दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् ।
जलवायु परिवर्तनलाई लिएर सन् २०१५ को पेरिस सम्झौतामा सामेल हुने घोषणासँगै बाइडेनले विवादास्पदकिस्टोन एक्सएल पाइपलाइन रद्द गर्ने आदेश पनि दिएका छन् ।-बीबीसी




प्रतिक्रिया