कास्की – गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।
सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए ।
उनले भने, ‘कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ । खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ ।
कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।
सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । निर्देशक शर्माले भने, ‘अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुुनुपर्दछ ।’




प्रतिक्रिया