काठमाण्डुमा झन ठूलो प्रदर्शन गर्छौं, टाउकोमै हान्छौंः प्रचण्ड

काठमाण्डुमा झन ठूलो प्रदर्शन गर्छौं, टाउकोमै हान्छौंः प्रचण्ड


काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले केपी ओलीले चालेको प्रतिगमनको कदमलाई हर हालतमा पराजित गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यसका बिरुद्ध आफू जीवनमरणको लडाइमा रहेको बताएका हुन् ।

‘तपाइ हामीले हाम्रो बिरासतलाई नयाँ उचाइमा उठाएर पहलकदमी लिनुपर्ने भएको छ । त्यसका लागि हामीले जीवन मरणको लडाइ लडनुपर्ने भएको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले काठमाण्डुमा ९ गते भएको प्रदर्शनबारे समिक्षा गर्दै काठमाण्डुमै केन्द्रीत हुने गरी त्यो भन्दा ठूलो जनप्रदर्शन आवश्यक भएको र टाउकोमै हान्नुपर्ने अवस्था आएको बताए । ‘काठमाण्डुमा अस्तिको भन्दा ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो । टाउकोमै हान्नुपर्ने भयो, अन्य ठाउँमा हानेर धेरै चोट नपुग्ला कि भनेर टाउकोमै हान्ने सोचियो,’ उनले भने ।

उनले ९ गतेको विरोधसभामा मध्येसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने बताए । त्यस्तै प्रचण्डले राजाहरुले पनि ढल्ने बेलामा र्‍याली गर्ने गरेको भन्दै केपी ओलीले गर्ने सभा र र्‍याली पनि त्यस्तै भएको टिप्पणी गरे ।

‘राजाहरुले पनि आफू ढल्नु भन्दा अगाडि, र्‍याली गर्थे । त्यस्ता र्‍यालीको केही अर्थ छैन,’ उनले भने, ‘हामी सानो भए पनि ठूलो भए पनि हामी जनताको पक्षमा, राष्ट्रको पक्षमा, गणतन्त्रको पक्षमा संविधानको पक्षमा भएकोले हाम्रो र्‍याली चाहिँ जनताको र्‍याली हो । हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो ।’