आफ्ना कार्यकर्ताको हत्या गरेपछि नेकपालाई कांग्रेसको चेतावनीः यस्ता घटना नदोहोर्‍याउ

आफ्ना कार्यकर्ताको हत्या गरेपछि नेकपालाई कांग्रेसको चेतावनीः यस्ता घटना नदोहोर्‍याउ


काठमाण्डु – नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

कांग्रेसले घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।

‘सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो । पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’