संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविकः कमल थापा

संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविकः कमल थापा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री केपी ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गरेका छन् ।

शनिबार बिहान एक वक्तव्य जारी गर्दै थापाले प्रधानमन्त्री ओलीको ‘असफलता र अकर्मण्यता’बाट मुक्तिका लागि ताजा जनादेशमा जानु उपयुक्त हुने दाबी गरेका छन् ।

‘यो संसदीय प्रजातन्त्र र संवैधानिक मूल्यरमान्यताप्रतिको विश्वसको अभिव्यक्ति हो,’ थापाले अगाडि भनेका छन्, ‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन ।’

यस्तो छ थापाले जारी गरेको विज्ञप्तिः

नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन । नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन । संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य र मान्यताप्रतिको विश्वासको अभिव्यक्ति हो । केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।

बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा अस्पष्टता छ, त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ । यसमा व्याख्याको जरुरी छ । संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविक हो । संविधानको आशय स्थिरता हो । विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।

विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोडदिएको हो । चुनावमा पूर्ण बहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको शृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन । बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो ।

निहीत स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउँछ । सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दलरनेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ ।