संसद विघटनविरुद्ध पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध, टुँडिखेल घेराउ

संसद विघटनविरुद्ध पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध, टुँडिखेल घेराउ


काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकले देशभर आज साङ्केतिक विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाण्डु उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेकाकांग्रेसको १८ वटा शुभेच्छुक संस्थाको प्रतिनिधिहरुले काठमाण्डुको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गर्दै मौन विरोध प्रदर्शन गरेका थिए ।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो ।

विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।

यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए ।