काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन खोजेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले अन्तराष्ट्रिय समूहको समर्थन खोजेको हो ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं ।’
नेकपा विभाजनको अन्तिम सयमसम्म भारत, चीन र अमेरिकी राजदूतले राजनीतिक भेटवार्ता तिव्र बनाए पनि हाल चुपचाप बसेका छन् । प्रचण्डले अन्तराष्ट्रिय समूहरुसँग सहयोग मागे पनि हालसम्म कुनै पनि देशले त्यसको जवाफ दिएका छैनन् ।
भारतीय राजदूत विनय मोहन क्वात्रा, चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत र्याण्डी बेरीले नेकपा विभाजनको अन्तिम समयसम्म नेकपाको विभाजन रोक्न कसरत गरेका थिए । तर, उनीहरुको भेटवार्ता विफल भएको छ । सत्तारुढ दल नेकपा दुई धारमा विभाजन भएपछि शक्ति राष्ट्रहरुले मौनता साँधेका छन् ।
प्रचण्डले अन्तराष्ट्रिय समूहसँग सहयोग मागेको बताएपनि चीन, भारत, अमेरिकालगायतका शक्ति राष्ट्रहरुले संसद विघटनलाई नेपालको आन्तरिक मामिला भएको बताएका छन् । चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षप नगर्ने बताए । उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिबद्ध रहेको जनाए ।
यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको बताए ।
प्रवक्ता श्रीवास्तवले बताएका थिए, ‘नेपालमा हालै भएको राजनीतिक घट्नाक्रमलाई हामीले ध्यान दिएका छौं । यी विषय नेपाल आफैले उसको लोकतान्त्रिक अभ्यासअनुसार निर्णय गर्ने आन्तरिक मामिला हुन् ।’
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले संसद विघटनको मुद्दालाई अदालतले मिलाउने बताउँदै आएका छन् । उनले अमेरिका लोकतन्त्रको पक्षमा उभिने भन्दै लोकतान्त्रिक पद्धति र संस्थालाई सहयोग गर्ने बताएका हुन् ।
प्रचण्ड–नेपाल समूहले संसद विघटनको विषयमा अन्तराष्ट्रिय समूहको सहयोग मागे पनि शक्ति राष्ट्रहरुले अदालतको अन्तिम फैसला कुरिरहेका छन् । अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला र निवाचन आयोगबाट नेकपाको आधिकारिकता टुंगो लागेको अवस्थामा मात्रै आफ्नोतर्फबाट धारणा सार्वजनिक गर्ने उनीहरुको तयारी देखिन्छ ।
भेनेजुयला काण्ड र अमेरिका–प्रचण्ड सम्बन्ध
सन् २०१९ जनवरी २५ मा पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै एउटा विज्ञप्ति निकाले । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेपनि त्यो निकै विवादित बन्यो । उनले भेनेजुयलाको आन्तरिक मामलामा अमेरिकाले गरेको हस्तक्षेपको कडा निन्दा गरेका थिए ।
‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ । यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ,’ उनले विज्ञप्तिमा भनेका थिए, ‘हामी अमेरिका र अन्य राष्ट्रहरुलाई अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई सम्मान गर्न आग्रह गर्छौं ।’
प्रचण्डले सार्वजनिक गरेको उक्त विज्ञप्तिबाट नेपालप्रति अमेरिकाको हेर्ने नजर नै बदलियो । भेनेजुयलाको समर्थनमा प्रचण्डले आफ्नो विरोध गरेपछि अमेरिकाले सरकारसँग आधिकारिक धारणा माग गरेको थियो ।
यस्तै अमेरिकालगायतका केही राष्ट्रहरुले अझै पनि प्रचण्डलाई युद्धको नेतृत्वकर्ताको रुपमा लिइरहेका छन् । अमेरिकाले द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकाले १० वर्षे सशस्त्र युद्धका क्रममा मानव अधिकार गम्भीर घटना भएकाले दोषीमाथि कारबाही गर्नुपर्ने बताउँदै आएको छ ।
पछिल्लो समय अमेरिकी राजदूत बेरीले नयाँ अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको आगमन भएपछि प्रचण्डसँग भेट गरेका थिए । उनले प्रचण्डसँग नेकपा विभाजन र लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनबिरूद्ध लड्ने र विश्वभर महिला र यवतीहरूको अधिकारको उत्थान गर्ने विषयमा छलफल गरेका थिए ।




प्रतिक्रिया