काठमाण्डु – प्रधानमन्त्री केपी ओलीले उपराष्ट्रपति र सभामुखको सार्वजनिक रुपमै आलोचना गरेका छन् ।
नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पदको मर्यादा विपरित सरकारविरुद्ध अभिव्यक्ति दिँदै हिडेको भन्दै उपराष्ट्रपति र सभामुखको आलोचना गरेका हुन् ।
‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’
उनले सभामुख अग्निप्रसाद सापकोटालाई सरकार विरोधी र झगडिया भएको बताएका छन् । ‘सभामुख बनाइएको थियो एकजनालाई, उहाँ सरकारको विरुद्धमा मुद्दा हाल्न जानुभएको छ । सरकारविरोधी झगडिया हो सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ?’ उनले भने, ‘सभामुख चुनेको झगडिया हुनका लागि हो ? तर, उहाँ झगडिया हुन जानुभएको छ । उहाँले किर्ते सनाखत गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ? साढे तीन बजे दर्ता गर्न लागेको कुरालाई १०ः४० मा ल्याएका थिए भने भनेर सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ सभामुखजस्तो पदका लागि ? ।’
त्यस्तै, प्रधानमन्त्रीले प्रचण्ड–नेपाल पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी समेत गरेका छन् । उनीहरुले विकासको विरोध गरेको कारण संवैधानिक परिषद्को बैठकहरु बस्न नसकेको बताउँदै ओलीले नेपालबाट कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको बताए ।
ओलीले जुनसुकै प्रजातान्त्रिक देशमा पनि प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने बताए ।




प्रतिक्रिया