काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमवार) सुदूरपश्चिम प्रदेश जाने भएका छन् ।
कञ्चनपुरमा रहेको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न भोलि प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।
९ अर्ब लगानीमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने दैजीछेला औद्योगिक क्षेत्रको सोमवार प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने आजै आइतवार नै धनगढी पुगिसकेका छन् ।
२०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएका थिए । उनले त्यसका लागि पहिलो पटक बजेट पनि विनियोजन गरेका थिए । तर, त्यसपछि दुई दशक भन्दा बढी समयसम्म कसैले वास्ता नै गरेनन् ।
अधिकारीको सपना साकार पार्ने तयारीमा प्रधानमन्त्री ओली जुटेका छन् । प्रेस सङ्गठन नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्ने र त्यसको सबै तयारी पुरा भएको बताए ।




प्रतिक्रिया