काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीविरुद्ध दिएको अभिव्यक्तिबारे माफी मागेका छन् । शनिबार एक कार्यक्रममा नेता पन्तले केपी ओलीले वलीलाई सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै सांसद बनेको बताएका थिए ।
उनले आफूले बोलेको पुरै भिडियो नराखिएको र प्रशंग मोडेर समाचार प्रकाशित भएकोमा आपत्ति जनाएका छन् । नेता पन्तले प्रधानमन्त्री ओलीले पार्टीमा योगदान नगरेका महिलाहरुलाई लगाएको भन्दै आफूलाई मन पर्ने महिलालाई सांसद र केन्द्रीय सदस्य बनाउँदै हिँडेकोमा विषयमा आफूले प्रतिक्रिया दिएको बताए ।
उनले भने, ‘मेरो मनशाय न महिला, न पुरुष कसैलाई अपमानित गर्ने छैन । मलाई दुःख लागेको छ । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु ।’
पन्तले के भनेका थिए ?
अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।
यता सांसद कोमल वलीले आफू न्यायका लागि अदालत जाने तयारी गरेकी छन् । उनले आफू काम विशेषले अहिले गृहजिल्ला दाङ रहेकाले काठमाण्डु पुगेर कानूनी उपचारमा जाने बताएकी हुन् ।
उनले नेता पन्तले आफू मात्र नभई सफलता प्राप्त गर्ने सबै महिलाका विषयमा अभिव्यक्ति दिएको भन्दै मंगलबार काठमाण्डु आएर मुद्दा दर्ता गर्ने बताएकी छन् ।




प्रतिक्रिया