काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी विभाजनका क्रममा केपी ओली समूहमा लागेका नेताहरुलाई कारबाही गर्ने तयारी गरेको छ ।
श्रोतका अनुसार सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि नेकपा माओवादीले ओली समूहमा लागेका नेताहरुलाई पार्टीमा नफर्किए कारबाही गर्ने तयारी गरेको हो ।
सर्वेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गरेर पूर्ववत पार्टीहरु नै अस्तित्वमा रहेको फैसला सुनाएपछि माधव नेपाल समूह भने एमालेमा फर्किएको छ ।
पार्टी विवादमा ओलीलाई साथ दिएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापाले आफूहरु पुर्नस्थापित एमालेमै रहने बताइसकेका छन् भने गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, कृषिमन्त्री गौरीशंकार चौधरी युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले भने पूर्वपार्टीमा फर्कने/नफर्कनेबारे केही निर्णय गरेका छैनन् ।
श्रोतका अनुसार उनीहरु अझै दोधारमा छन् । माओवादी केन्द्रले उनीहरुमाथि साधारण दसस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरे स्वतः सांसद् पद रिक्त हुन संवैधानिक व्यवस्था छ ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताइएको छ ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए । आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनले बताए ।




प्रतिक्रिया