दुई सातापछि मेलम्चीको पानी घरघरमा

दुई सातापछि मेलम्चीको पानी घरघरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्चीको पानी पिउने काठमाण्डु उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाण्डुवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाण्डु उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।