सत्ता समिकरणबारे देउवा मौन, ओलीलाई सत्ताबाट हटाउने प्रचण्डको भित्री तयारी

सत्ता समिकरणबारे देउवा मौन, ओलीलाई सत्ताबाट हटाउने प्रचण्डको भित्री तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल कांग्रेस सभामुख शेरबहादुर देउवा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्किँदा समेत सत्ता समिकरणबारे मौन छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास शान्तजस्तै छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पर्ख र हेरको रणनीतिमा छन् । माओवादी केन्द्रले अझैपनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन ।

ओली सरकारविरुद्ध आफै प्रधानमन्त्रीका रुपमा प्रस्तावित भई तत्कालिन नेकपाबाट अविश्वासको प्रस्ताव दायर गरिएपनि प्रचण्ड संयम भइरहनुलाई आँधी आउनु अघिको सन्नाटाका रुपमा लिइएको छ । प्रचण्डले अझैपनि ओलीलाई समर्थन दिइरहने सम्भावना न्यून छ । तैपनि, उनी किन समर्थन फिर्ता लिइरहेका छैनन् ? यो भने आम जनताको चासोको विषय बनेको छ ।

ओली सरकारविरुद्ध परिपक्व समिकरण नबनेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नगर्नेमा प्रचण्ड देखिएका छन् ।
समर्थन फिर्ता लिएपछि ३० दिनभित्र ओलीले विश्वासको मत लिनुपर्छ । त्यो लिन सकेमा प्रचण्डका लागि अर्को राजनीतिक झड्का पर्न सक्छ । त्यस्तो कुनै मौका नदिने तयारीमा उनी लागेको बुझिाएको छ ।

प्रचण्डले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको समिकरण बनाउन सक्रियता देखाएका छन् । उनले यसअघिनै काँग्रेस र जसपा नेताहरुलाई भेटिसकेका छन् । आफूले प्रधानमन्त्री नबनेर भएपनि काँग्रेस या जसपामध्येबाट एक उम्मेदवार बनाएर जाने प्रचण्डको रणनीति बुझिएको छ । उनी कुनै हालतमा ओलीको बर्हिगमन चाहन्छन् ।

श्रोतका अनुसार भित्र भित्र राजनीतिक खिचडी पाकिरहँदा कुनैपनि बेला छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्छ । त्यसका लागि काँग्रेस सभापति देउवा र राजपा अध्यक्ष महन्थ ठाकुरलाई मनाउन प्रचण्ड लागेका छन् । यी दुई नेता मिलेलगत्तै अकस्मात् अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।

प्रस्ताव नआएमा प्रचण्डले समर्थन फिर्ता लिन्छन् । त्यस्तो अवस्थामा विश्वासको मत लिन ओली लाग्नेछन् । त्यतिबेला उनलाई असफल बनाउने गरी वैकल्पिक रणनीतिमा समेत प्रचण्ड लागेको बुझिएको छ ।

किन मौन छन् देउवा ?

राजनीतिका भेट्रान खेलाडी मानिने देउवा प्रधानमन्त्री बन्ने मौका आउँदा समेत यो पटक निश्कृय जस्तै देखिएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार बनाउन तीव्र दौडधुप चलिरहेका बेला देउवाको मौनता आश्चर्य लाग्दो छ ।

उनले पछिल्लो आन्तरिक भेटघाटमा पनि प्रधानमन्त्री बन्ने आकांक्षा नराखेको बुझिएको छ । देउवाले पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउँदै आएका छन् ।

केही दिनअघि मात्रै बूढानीलकण्ठस्थित आफ्नै निवासमा एक पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका थिए । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।’

उनले पछिल्लो समय आफुलाई पदको लोभ नभएको बताउँदै आएका छन् । देउवाले फागुन १९ गते चितवनमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘प्रधानमन्त्री पाउँ भनेको छैन, काँधमा आया भने जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

उनको यो अभिव्यक्तिले पनि देउवा प्रधानमन्त्री बन्नका लागि मरिहत्ये गर्दैनन् भन्ने बुझ्न गाह्रो छैन । श्रोतका अनुसार देउवाको ध्यान अहिले महाधिवेशनतिर छ । अहिले कांग्रेसको प्रमुख जिम्मेवारी महाधिवेशन सम्पन्न गर्नु हो । त्यसैले देउवा प्रधानमन्त्री बन्ने मौका आउँदा समेत मौन बसेका छन् ।