बद्मासी गरेकालाई गृहमन्त्री बनाइयो, अब फर्किन पर्दैनः प्रचण्ड

बद्मासी गरेकालाई गृहमन्त्री बनाइयो, अब फर्किन पर्दैनः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएका मन्त्रीलाई एमालेमा समाहित हुन आग्रह गरेका छन् ।

शुक्रबार रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवादीबाट मन्त्री बनेकाहरूलाई माओवादी केन्द्रमा नफर्कन आग्रह गरेका छन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई बद्मास र अन्य मन्त्रीहरुलाई बिग्रेका कुच्चेको भएको बताए ।

‘मलाई विचरा भन्न लाग्यो । बद्मासी गरेकालाई गृहमन्त्री बनाइयो, अरू पनि बिग्रेका कुच्चेकालाई फकाउँदाफकाउँदा हैरान भइयो,’ उनले भने, ‘त्यस्ता मान्छेलाई अब फकाउन छोड्या छु, ती फर्किन पर्दैन उतै बसे हुन्छ ।’

उनले दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत रहेको बताएका छन् । उनले आफ्नो धरातल छोडेर हिँड्न नहुने बताए ।

‘दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत हामीसँग छ,’ उनले भने, ‘काठमाण्डुमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, आफ्नै ऊर्जा पनि खतम भयो । अब जिल्लातिर धेरै समय बिताउने छु ।’

त्यस्तै अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको बताएका छन् ।

‘फेरि एकतातिर नै लैजानुपर्छ भन्ने माधव नेपाल, झलनाथ खनालहरूसँग छलफल भएको छ,’ उनले भने, ‘सबैसँग छलफल गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ ।’

उनले आफ्ना कार्यकर्ताहरूलाई माधव नेपाल पक्षीय कार्यकर्ताहरूसँग सम्बन्ध राम्रो बनाइरहन निर्देशनसमेत दिए । ‘पूर्वएमाले साथीहरू फेरि एमालेमा जाँदैनौं भन्ने लाग्छ भने हेडक्वार्टरमा सम्पर्क गरेर मात्रै निर्णय गर्नुस्,’ उनले भने, ‘केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस् । किनकी त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन ।’