अ‍ोलीजीले सडकमा पुर्‍याइदिनुभो, धुलो टक्टकाउँदै जनताका बीचमा उभिएका छौंः प्रचण्ड

अ‍ोलीजीले सडकमा पुर्‍याइदिनुभो, धुलो टक्टकाउँदै जनताका बीचमा उभिएका छौंः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ गेतपछि आफू झनै शक्तिशाली भएको बताएका छन् ।

आइतबार छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि आफू झनै शक्तिशाली भएको बताएका हुन् ।

‘हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । फेरि आम नेपाली जनताको बीचमा फाल्दिनुभो’, उनले भने, ‘आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताका बीचमा उभिएका छौं । म त पुस ५ गतेपछि निकै शक्तिशाली भएको जस्तो लागेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो लडाइँ नसकिएको भन्दै अन्तिम समयसम्म लडिराख्ने बताएका छन् ।

‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ,’ उनले भने, ‘तपाईंहरू गहिरोगरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो । त्यो तपाईंहरू पनि पढ्नु्स् । धेरै लामो छैन, एकछिन बसेर सरर्र हेर्दा भ्याइन्छ ।’

प्रचण्डले प्रधानमन्त्री अ‍ोली संविधान विरोधी, गणतन्त्रविरोधी रहेको आरोप लगाएका छन् । संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन पनि सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार परेको बताए ।

‘देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेका छैनन् । ती सबै मिलेर एउटा धार बनेको छ । ती सबैले नेपालमा यो संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्,’ प्रचण्डले भने, ‘संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन पनि सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने सजिलै, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओली नै देखियो भनेका छन् ।’