काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट गर्न समय मागेको बताएका छन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले कानूनमन्त्री लिलानाथ श्रेष्ठमार्फत प्रधामन्त्रीसँग भेट्ने समय व्यवस्थापन भएको बताएका छन् । उनले एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुरा भएकाले चाँडै भेट हुने अपेक्षा गरेका छन् ।
‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । त्यो कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला,’ सभामुख सापकोटाले भने ।
उनले सरकारले ल्याएका अध्यादेश संसदमा अड्काउने मनसाय नरहेको प्रष्ट पारेका छन् । उनले संसदबाट चाँडै अध्यादेश पास गर्ने गरी काम भइरहेको पनि बताएका छन् ।
‘सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मलाई लागेको छैन,अड्काउने मनसाय पनि छैन । निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु । निष्ठाका साथ अगाडि बढ्छु,’ सभामुख सापकोटाले भने ।
संसदमा टेबुल भएका अध्यादेश पारित नगरेको भन्दै सभामुखमाथि मन्त्रीहरुले नै प्रश्न उठाएका थिए । उनीहरुले सभामुखको नियत ठिक नदेखिएको भन्दै स्वतन्त्र भएर काम गर्नुपर्ने बताउँदै आएका छन् । स्वंय प्रधानमन्त्रीले पनि सभामुखको कामबाट आफू सन्तुष्ट नरहेको स्पष्ट पारेका थिए ।




प्रतिक्रिया