काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र विप्लवबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता कहिले रिहा गर्ने भनेर प्रश्न गरेका थिए ।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
आजको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएको विप्लव समूहका नेता उदय चलाउनेले जानकारी दिए ।
‘आज महासचिव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो । भेटमा महासचिवले सरकारसँग भएका सहमति कार्यान्यनका लागि जोड दिनुभएको छ,’ उनले भने ।
जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको बताएको नेता चलाउनेले बताए ।




प्रतिक्रिया