माधव नेपाल पक्षले भन्योः स्पष्टिकरणको जवाफ दिँदैनौं

माधव नेपाल पक्षले भन्योः स्पष्टिकरणको जवाफ दिँदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले नेकपा एमालेले सोधेको स्पष्टिकरण नदिने तयारी गरेका छन् । एमाले नेता योगेश भट्टराईले स्पष्टिकरण सोध्नेहरु नै प्रश्नको घेरामा रहेको भन्दै जवाफ नदिने संकेत गरेका छन् ।

उनले भने, ‘सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् ।’

अर्का नेता भीम रावलले कारबाही गर्ने कुरा हाँस्यास्पद रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एकलौटी रुपमा राखेका बैठक अवैधानिक रहेको भन्दै स्पष्टिकरण नदिने जवाफ दिएका छन् । नेता रावलले प्रधानमन्त्री अ‍ोलीले विधि र विधान विपरितका कार्य गरेकाले कारबाही गर्नुपर्ने बताए ।

‘ओलीले पार्टीको ९ औँ महाधिवेशनको विधान र संविधान उल्लघंन गर्नुभएको छ। उहाँलाई कारवाही गर्नुपर्ने देखियो,’ उनले भने, ‘पार्टीबाट सोधिएको भनिएको स्पष्टीकरण पत्रको कुनै अर्थ छैन ।’

एमाले नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाही गर्न नमिल्ने बताएका छन् ।

‘अहिले माधव नेपाल वा भीम रावललाई कारबाही गर्ने अवस्था छैन । उहाँहरू सबैको मिहिनेतले एमाले बनेको हो । त्यसैले अभिभावकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द कोठामा पहल गर्नुपर्छ’, उनले भने ।

नेकपा एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाएको थियो । गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तिन दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण दिन भनिएको छ । पत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।