सरकार-जसपा सहमतिनजिक,माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सरकार-जसपा सहमतिनजिक,माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन्। एक–डेढ महिनायता उनीहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ। जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ। सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरू सुवास नेम्वाङ र राजन भट्टराई छन्।

जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ। शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन्। ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए। कार्यदल सहमतिनजिक पुगेको स्रोतको भनाइ छ।

जसपा कार्यदल सदस्य कर्णले सहमतिका लागि दुई पक्षबीच वार्ता जारी रहेको बताए। ‘हामी सहमतिमा पुग्न वार्ता गरिरहेका छांै,’ कर्णले भने। एकदुई दिनमा कार्यदलको अर्को बैठक बस्ने उनले बताए। जसपाका एक पदाधिकारीले सरकार–जसपा वार्तामा धेरै प्रगति भएको दाबी गरे। ‘केही दिनमै प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।

जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीको रिहाइका लागि वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनमा लगाइएका झुटा मुद्दा खारेज गर्नुगर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने तथा संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ। सरकारले तत्काल पूरा गर्न सक्ने माग भनेको लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नु मात्र हो। अन्य माग पूरा गर्न अदालती प्रक्रियामा जानुपर्छ। यसैगरी संविधान संशोधनका लागि दुईतिहाइ चाहिन्छ। तर संविधान संशोधन प्रस्ताव सरकारले प्रतिनिधिसभामा दर्ता गर्न सक्छ। -यो समाचार आजको नागरिक दैनिकमा छ ।