काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिँदै गरेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकका शुन्य समयमा बोल्दै सांसद थापाले अहिलेको सरकार रहुञ्जेल संसदको अपमान, उपेक्षा, तिरस्कार गर्ने काम अझै बढ्दै जाने बताएका हुन् । उनले संसदको गरिमा कायम गर्नका निम्ति आफ्नो ठाउँबाट लड्ने बताए । थापाले प्रधानमन्त्री ओलीले संसद र सांसदको मात्र अपमान गरेको नभइ जनताको समेत अपमान गरेको बताए ।
‘कहिले प्रश्न छल्न हठात संसद् स्थगित, कहिले पार्टीभित्रको बिरोधी तह लगाउन संसद् भंग, अनि अहिले संसद भंग सही थियो भनेर सावित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च’, उनले प्रश्न गर्दै भने, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई कारवाही गर्न बनाएको विधेयक अघि बढाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा विधेयकपनि नदिने, अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाउने ?’




प्रतिक्रिया