काठमाण्डु – राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको हल्ला चलेपछि ट्विटरमा ‘आइ एम विथ पठाओ’ अभियान चलाइएको छ । ट्याक्सी भन्दा सस्तो र भरपर्दो सेवा दिइएरहेको पठाओ बन्द गर्न नहुने भन्दै चलाइएको ‘आइ एम विथ पठाओ’ अभियान ट्वीटरको ट्रेन्डिङमा परेको छ ।
केही दिनअघि देखि ट्याक्सी व्यवसायीहरुले आफूहरुको पेशा नै संकटमा पर्न थालेको भन्दै पठाओको विरोध गरिरहेका छन् । विवाद बढेपछि कम्पनीले बुधबारदेखि पठाओको पोशाक लगाएर सडकमा ननिस्कन राइडरहरुलाई आग्रह गरेको छ । ट्याक्सी भन्दा निकै सस्तोमा सेवा पाइरहेकोले पठाओलाई कुनै हालतमा बन्द गर्न नहुने भन्दै ट्विटरमा अभियान नै चलाइएको हो ।
पठाओ सेवा बन्द हुन लागेको हल्ला चलेपछि पठाओ नेपालले भने प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुचारु हुने दाबी गरेको छ ।
मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए ।
पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको पठाओले बताएको छ । काठमाण्डु उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । यात्रामा बार्गेनिङ गर्नु नपर्ने र प्रविधिमैत्रीका कारण अधिकांस यात्रुको रोजाइमा राइड सेयरिङ प्लेटफर्म पर्ने क्रम बढेको छ ।
ट्विटरमा श्रृजना भुषालले लेखेकी छिन्, ‘सुन ट्याक्सी चालक हो । म जस्तो गरिब धेरै छन्, हामी तिमिहरुको ट्याक्सी चढ्न सक्ने हैसियतको छैनौँ, त्यसैले ‘आइ एम विथ पठाओ ।’
अनिल बरालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘अस्ति बिहान अस्पताल जाने क्रममा बाटोमा अस्पतालको गाडि बिग्रियो । वरीपरी ट्याक्सी पनि थिएनन् । पठाओ बोलाएँ, सजिलै धुम्बाराहीबाट पुल्चोक १६५ रुपैयाँमा पुगियो । यो सेवा बन्द कुनै हालतमा हुनु हुँदैन ।’
पर्पल हेज नाम गरेका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘पठाओ र टुटल कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, त्यसैले म यिनको समर्थन गर्छु । काम गरेर खानेलाई सम्मान गर्नु पर्छ ।’




प्रतिक्रिया