माओवादीमा स्खलन : ती प्रचण्ड र यी प्रचण्ड !

माओवादीमा स्खलन : ती प्रचण्ड र यी प्रचण्ड !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पृथक राजनीतिक एजेन्डा र कार्यशैलीसहित राजनीतिमा उदाएका नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय ‘कुहिरोको काग’ बनेका छन् । उनी यतिसम्म निरीह बनेका छन् कि कट्टर दुष्मन मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन समेत सकिरहेका छैनन् भने पार्टीलाई धोका दिएर एमालेतिर लागेका नेताहरूलाई कारवाही समेत गर्न सकिरहेका छैनन् ।

प्रचण्ड निरीह मात्रै भएका छैनन्, व्यंग्यको पात्र समेत बनेका छन् । प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेका छन् । तर, ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् ।

यस्तैअन्योलपूर्ण अवस्थालाई चित्रित गर्दै गत मंगलबार धरानमा आयोजित एक कार्यक्रममा देउवाले भने, ‘माओवादी मन्त्रीहरू फिर्ता आएका छैनन् । मन्त्री नै छन् । यो संयुक्त सरकार हो । यो जतिबेलासम्म संयुक्त रहन्छ, त्यसबेलासम्म बहुमतकै हुन्छ । हामीले चाहेर पनि प्रधानमन्त्री बन्न सकिन्न । जबसम्म बहुमतको सरकार छ, तबसम्म हामीले निहुँ खोज्ने काम गर्नुभएन । म फस्ने काम त गर्नु भएन नि !’

प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमाले सांसद खगराज अधिकारीले समेत प्रचण्डमाथि प्रश्न गरे, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

कांग्रेस र एमालेले मात्रै होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले समेत प्रचण्डमाथि व्यंग्य गरे, ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिनअघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्षौंदेखि विदेशीबाट पालितपोषित एजेन्ट भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने । लाजमर्दो राजनीति ।’

समर्थन फिर्ता मात्रै होइन, माओवादी पार्टीलाई धोका दिएर नेकपा एमालेतिर लागेका थुप्रै मन्त्री र सांसदलाई कारवाही गर्ने निर्णय समेत अध्यक्ष प्रचण्डले गर्न सकेका छैनन् ।

माओवादी नेताहरू गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभू साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी ओली सरकारमा सहभागी छन् । एमालेले यी सबैलाई पार्टी केन्द्रीय सदस्य मनोनित गरिसकेको छ तर प्रचण्डले कारवाही गर्न सकेका छैनन् । माओवादी स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकले एमालेतिर लागेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय फागुन २९ गतेको बैठकले गरेको थियो । तर २४ घण्टे स्पष्टीकरण सोधेको १२ दिन बितिसक्दा समेत माओवादी अनिर्णित बनेको छ ।

‘बोल्ड डिसिजन’ लिने त्यो इतिहास !

हाल निरीह देखिएका प्रचण्डको इतिहास पनि यति कमजोर छैन । जनपक्षीय एजेन्डासहित सशस्त्र जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीमा स्पष्ट अडान र शीघ्र निर्णय क्षमता थियो, जसको नेतृत्व अध्यक्ष प्रचण्डले नै गरेका थिए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पहिलोपटक सहभागी भएको संविधानसभा निर्वाचनमा देशकै पहिलो शक्ति बनेको थियो । २०६३ चैत २८ गते पहिलो संविधान सभाको चुनाव भएको थियो, जसमा नेकपा माओवादी देशकै अग्रणी राजनीतिक पार्टीको रूपमा उदाएको थियो ।

त्यही चुनावी विजयको जगमा अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले २०६६ बैशाख २० गते प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो । कार्यकारी सरकारको निर्णयलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएपछि भोलिपल्ट बैशाख २१ गते नै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

स्पष्ट अडान र शीघ्र निर्णय क्षमता भएका प्रचण्ड पछिल्लो कालखण्डमा ढुलमुले र अलमलमा फसेका छन् । उनी आफू अलमलमा मात्रै छैनन्, माओवादी संगठन छिन्नभिन्न भएको छ । नेताहरू प्रचण्डबाट अलग हुँदै आ–आफ्नो बाटो लागेका छन् । शीर्ष नेतृत्व तहमै रहेका मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ छुट्टाछुट्टै छन् ।

माओवादी आन्दोलन छिन्नभिन्न हुनु र प्रचण्डको निर्णय क्षमता स्खलित हुनुको कारणबारे बताउँदै एक पूर्व माओवादी नेताले भने, ‘प्रचण्डले आफू नेतृत्वमा रहिरहन र सत्तामा पुग्न जे पनि गरे, सहयोद्धालाई लखेटे, जनताका एजेन्डा छाडे । प्रचण्ड पार्टीमा मात्रै नभई जनतामा समेत अलोकप्रिय र बदनाम भएका छन् ।’