काठमाण्डु – कर्णाली प्रदेश नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरुसमेत उपस्थित भएका छन् । बैठकमा नेपाल समूहका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित १७ सांसद उपस्थित रहेको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।
आजको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रमुख सचेतक शाहले जानकारी दिए ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभामा एमालेसँग २० सिट रहेको छ ।
२० मध्ये माधव नेपाल समूहका ९ जना सांसद रहेका छन् । माओवादी केन्द्रसँग १२ सिट रहेको छ । यस्तै कांग्रेससँग ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ सिट रहेको छ ।




प्रतिक्रिया