काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान हात्तीवनमा नेता पौडेल र अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
भेटवार्ताका क्रममा नेता पौडेलले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । उनले चाँडै नै कांग्रेसको नेतृत्वमा तीन दलको सरकार निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
‘कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गरौं । त्यसका लागि तपाईले सभापति देउवाजी र प्रचण्डजीसँग छलफल गर्नुहोस्’, पौडेलको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
पौडेलले अध्यक्ष ठाकुरलाई अलोकतान्त्रिक कदम चालिरहेका केपी शर्मा ओलीलाई समर्थन नगर्न आग्रह गरेका थिए ।
े‘अलोकतान्त्रिक, असंवैधानिक काम गर्ने केपी ओलीको सरकारलाई समर्थन नगर्नुस्,’ पौडेलले ठाकुरलाई भने, ‘तपाईंहरूको मागको विषयमा देउवाजी, प्रचण्डजी र तपाईं बसेर छलफल गर्नुस् । ओलीलाई सहयोग नगर्नुस् ।’
जवाफमा ठाकुरले प्रधानमन्त्री अोली आफूहरुका मागका विषयमा सकारात्मक रहेकाले तत्कालै निर्णय लिन नसक्ने बताएका थिए ।
उनले भने, ‘हाम्रो माग जसले पुरा गर्छ उसैलाई हामी समर्थन गर्ने हो । अहिलेसम्मको अवस्थामा ओलीजी सकारात्मक नै हुनुहुन्छ ।’
प्रधानमन्त्री अोलीले जसपाका माग पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन् । उनले जसपालाई सरकारमा ल्याउन अन्तिम कसरत जारी राखेका छन् ।




प्रतिक्रिया