एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो, आफ्ना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो, आफ्ना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश नेकपा एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग गरेको छ ।

आज बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त्र गर्न आग्रह गरेको छ ।

‘सरकारलाई नेकपा एमाले संसदीय दलको चैत ५ गते बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको हुनाले कर्णाली प्रदेश नेकपा माअ‍ोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारले मार्गप्रशस्त गरेर यथाशक्य राजीनामा दिन आग्रह गरेको छ’, एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने ।

त्यस्तै आजको बैठकमा नेकपा एमालेका तीन जना मन्त्रीहरुले मुख्यमन्त्री शाही नेतृत्वको सरकारबाट राजीनामा दिने बताएका छन् ।

मन्त्रीहरुले चैत ५ गतेको पार्टीको निर्देशन बमोजिम राजीनामा दिन सहमत भएको प्रमुख सचेतक शाहले काठमाण्डुपाटीलाई जानकारी दिए । सरकारमा रहेका तीन जना मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिइसक्ने विषयमा सहमति जनाएका छन् ।

‘माननीय मन्त्रीज्यूहरुको विषयमा चैत ५ गते संसदीय दलको बैठकले फिर्ता लिने निर्णय गरिसकेपछि फेरि निर्णय गरिरहनु परेन । उहाँहरुले कुरो बुझिहाल्नु भएको छ’, उनले भने ।

बैठकले प्रमुख सचेतकको अध्यक्षतामा सांसदद्वय करवीर शाही र मीना सिंह ढकालको अध्यक्षतामा तीन सदस्यीय विधान मस्यौदा कार्यदल कमिटी बनाएको छ ।

नेकपा एमालेभित्र देखिएका समस्यालाई समाधान गर्दै एमालेको एकतालाई अक्षुण राख्नका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ । संसदीय दलको अर्को बैठक चैत २४ गते दिउँसो १ बजे बस्ने प्रमुख सचेतक शाहले जानकारी दिए ।