काठमाण्डु – सरकारले भारतको कोरोना खोप उत्पादक कम्पनी सिरम इन्टिच्युट अफ इण्डियालाई कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप पठाउन तेस्रोपटक पत्र पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख महिनाभित्र नेपालले खरिद गरेको बाँकी १० लाख डोज खोप उपलब्ध गराउन सिरम इन्स्टिच्युट अफ इन्डियालाई तेस्रोपटक ताकेता पत्र पठाएको हो ।
नेपालले पहिलो चरणमा सिरमसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो, जसमध्ये यसअघि १० लाख डोज मात्रै आएको छ । बाँकी १० लाख डोज खोप अहिलेसम्म नआएकाले नेपालमा खोप अभियान प्रभावित हुने देखिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सिरमसँग कुरा भइरहेकाले दोस्रो डोजका लागि अभाव नहुने बताए । सिरमले खोपको उत्पादनभन्दा माग बढी भएकाले समस्या परेको जवाफ जनाएको छ ।
सिरमले वैशाख महिनाभित्र खोप नपठाए जेठबाट सुरु हुने दोस्रो डोज खोप अभियान प्रभावित हुनेछ । सरकारले कोभिसिल्डबाहेक अन्य कुनै पनि कम्पनीसँग खरिदको प्रक्रिया अगाडि बढाएको छैन । पहिलो चरणमा खोप लगाएका साढे चार लाख स्वास्थ्यकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई ७ देखि ११ वैशाखसम्म खोप लगाइनेछ ।
उनीहरूका लागि पुग्ने खोप मौज्दात राखिएको छ । तर, ६५ वर्षदेखिमाथिका नागरिकलाई लगाउने दोस्रो डोज अहिलेसम्म सुनिश्चित भएको छैन । हालसम्म १८ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा देशभर तीन सय ३२ संक्रमित थपिए
बिहीबार देशभर तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार ६ जनाको पिसिआर परीक्षण गर्दा सय ३२ जना नयाँ संक्रमित थपिएका हुन् ।
हालसम्म कोरोनाबाट नेपालमा तीन हजार ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर दुई हजार चार सय ५४ जना एक्टिभ संक्रमित छन् । तर, उनीहरूमध्ये एक सय दुईजना आइसोलेसनमा, ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।




प्रतिक्रिया