काठमाण्डु – नेकपा एमालेका माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दासी भएको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले विधानविपरीत काम गर्नेलाई साथ दिनेहरु दासी भएको बताएका हुन् ।
उनले आफुहरु ओलीको दास नभएको बताए । ‘ओलीजीले अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्नु भएको छ, विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन्, हामी दास होइनौं,’ उनले भने ।
उनले ओलीको मुख हेरेर नभई माक्र्सवाद र लेनिनवादबाट प्रेरित भएर कम्युनिष्ट आन्दोलनमा लागेका समेत बताए । ‘केपीजीको मुख हेरेर होइन माक्र्सवाद र लेनिनवादबाट प्रेरित भएर आन्दोलनमा अगाडि बढेका हौं,’ उनले भने ।
नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्ने बताए । ‘२०७५ साल जेठ २ गतेमा प्रधानमन्त्री केपी ओलीलगायत अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, युवराज गौतम सबै निर्वाचित थिए । तर अहिले सबैको पद समाप्त हुने र ओलीको पद भने कायम रहनै सक्दैन,’ उनले भने ।
पार्टीमा ओलीले कारबाही गरेपछि सबै नेता तथा कार्यकर्तालाई निराश नभई पार्टीमा लाग्नका लागि एकताबद्ध गरिरहेको बताए । नेता नेपालले ओलीमा भक्तजन बाहेक अन्य कसैलाई पनि सहन गर्न सक्ने क्षमता नभएको बताए ।
‘पार्टीमा एउटा व्यक्ति सबै थोक होइनन् त्यसैले व्यक्ति आउँछन्, जान्छन् भन्ने मान्यताको विकास गर्न चाहन्छौं । कम्युनिस्ट पार्टी नीति र विचार प्रधान हुन्छ व्यक्ति प्रधान हुँदैनन् । ओलीजीले भक्तजनबाहेक कसैलाई पनि सहन गर्न सक्नुहुन्न, उहाँमा असहिष्णुताको प्रवृत्ति चरम उत्कर्षमा पुगेको छ ।’




प्रतिक्रिया