काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा अोलीलाई सत्ता सुम्पिएको बताएका छन् ।
शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै ओलीलाई सत्ता सुम्पेको बताएका हुन् । उनले अोली बिना खुट्टै नटेक्ने मान्छे अहिले ओलीले नै लात हानेपछि ठिक्क परेको भन्दै व्यंग्य गरे ।
‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैंले ओलीलाई सत्ता बुझाउने । खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भाछ । वास्तविकता यही हो’, देउवाले भने ।
उनले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको बताए । सभापति देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको बताए ।
‘मैले आज नि बैठक बोलाको छु । नयाँ सरकार बन्यो भने ठीकै छ त । बनेन भनेपनि चुनाव नै उपयुक्त विकल्प हो । चुनावमा जानुपर्ने बाध्यता हुनसक्छ । त्यसका लागि तयार हुनुपर्छ’, उनले भने ।




प्रतिक्रिया